आज: २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

राष्ट्रपति निर्वाचन : मतदान सकियो, केहीबेरमा मतगणना


  • चौतारीपाटी
  • २०७९ फागुन २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • २२१ पाठक संख्या
  • काठमाडौँ
    गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी छ ।

    पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।
    मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।
    २००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।

    पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।

    नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका थिए । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढे ।

    २०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय भए ।
    २०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहेका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बने ।
    २०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उनले तनहुँबाट जित हात पारेका थिए । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बने र विपक्षी दलको नेताको भूमिका निर्वाह गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट