आज: २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रण भएन


  • चौतारीपाटी
  • २०८० चैत्र २३, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • ९७ पाठक संख्या
  • गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मङ्गलबारदेखि लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

    बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौँ हेक्टर जङ्गल नष्ट भएको छ । वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट भएका छन् ।

    मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागीले बेनी–२ बगरफाँट र बेनी–३ भकिम्लीका लरेनी, बिरखानीलगायत आसपासको वनभरि फैलिएको बगरफाँटका तोपबहादुर कार्कीले बताए । “आगो नियन्त्रण बाहिर छ, मानवीय प्रयासमा नियन्त्रणको सम्भावना छैन, धुवाँको मुस्लोले बस्तीमा बस्नै गाह्रो भएको छ”, कार्कीले भने ।

    डढेलो फैलिएर बेनी–३ भकिम्लीको तल्लो बस्तीसम्म पुगेको छ । वनबाट बस्तीमा आगो पस्न सक्ने खतरालाई दृष्टिगत गरी भकिम्लीको तल्लो क्षेत्रका बस्तीमा सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । “आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । कसरी आगो लाग्यो भन्ने कुरा अझै यकिन भएको छैन्”, उनले भने ।

    आगलागीले ससाना बिरुवा र बुट्यानहरू नष्ट हुनाका साथै वन्यजन्तु र चराचुरुङ्गीका बासस्थान नासिएका छन् । म्याग्दी जिल्लामा विभिन्न सामुदायिक वनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि साधनस्रोत र जनशक्तिको अभावले समस्या भएको बताइएको छ ।

    जिल्लामा आगलागीले सदरमुकाम बेनीबजारसँगै जोडिएका बराहपाखो सामुदायिक वनसहित जिल्लाभरका सामुदायिक तथा सरकारी वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका स्थानीय बताउँछन् ।

    हरेक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्याङ्कले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारण हुने गरेको कार्यालयको ठहर छ ।

    वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ । जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेक्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचना नआउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट