आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँ : प्रधानमन्त्री प्रचण्ड


  • चौतारीपाटी
  • २०८० आश्विन २३, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ९४ पाठक संख्या
  • काठमाडौँ  ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् ।
    प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे ।
    “मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौँ”, उनले भने ।
    मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, “वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरुसँग समन्वय गर्न आवश्यक छ ।” उनले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
    प्रधानमन्त्री दाहालले भने, “समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् । ”
    उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरे ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट