आज: २०८२ अषाढ १, आईतबार | Sun, 15, Jun, 2025

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति


  • चौतारीपाटी
  • २०८० पौष १, आईतबार मा प्रकाशित १ साल अघि
  • २७३ पाठक संख्या
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन् । विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गरे ।

    राष्ट्रपति पौडेलले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् । उनले मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    राष्ट्रपति पौडेल सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गरेका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट