आज: २०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गरिँदै


  • चौतारीपाटी
  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • १३३ पाठक संख्या
  • चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन्। पाँच पूर्वप्रधानमन्त्रीको उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइपुगेका छन् ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति हुनेछन् । यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिइन् ।

    यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल, प्रदेश प्रमुख अमिक शेरचन र तिलक परियार उपस्थित हुनुहुने भएको छ । माल्टाको एम्सिदा नगरका नगरप्रमुख मारर्गेरेट सेफाइसँगै नेपालका महानगरपालिका पोखरा र वीरगञ्जबाट प्रमुखको कार्यक्रममा उपस्थित हुनेछन् । चितवन र छिमेकी जिल्लाका उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरू कार्यक्रममा उपस्थित हुने बताइएको छ ।

    यसैगरी मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहने दाहालले जानकारी दिइन् । नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ ।

    भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार देश तथा विदेशमा समेत प्रचारप्रसारको काम गरिएको छ ।

    औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए ।

    भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ । सोही ठाउँमा एकसिङ्गे गैँडासमेत पर्यटकले हेर्न पाउनेछन् । ऐतिहासिक दियालो दरबारसमेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।

    भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट