आज: २०८१ कार्तिक २०, मंगलबार | Tue, 05, Nov, 2024

इलाम अस्पतालमा शय्या अभाव, भुईँमै राखेर उपचार


  • चौतारीपाटी
  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित १ साल अघि
  • १४१ पाठक संख्या
  • फिक्कल । इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भुईँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेंगु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भुईँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

    अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकास्मिक कक्षमा बिरामी आउने गरेको आकास्मिककक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिइन् । उनका अनुसार अस्पताल आउने मध्ये अधिकांश डेंगु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामी छन् ।

    “जीउ दुख्ने, हात खुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्याधिक आउने लक्षणहरु लिएर अधिकांश बिरामी आउने गरेका छन्”, लुइँटेलले भनिन्, “अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए पनि उपचार गरिरहेका छौँ ।”

    अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेका अस्पतालका व्यवस्थापक क्षितित खतिवडाले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षमा जम्मा ११ शय्या मात्र छन् । “आकस्मिक कक्षमा भर्ना भएर आएका बिरामीलाई शय्या नपुगेपछि भुईँमै राखेर सेवा दिइरहेका छौँ”, व्यवस्थापक खतिवडाले भने, “ओपिडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो उपचार गरिरहेका छौँ ।”

    उनका अनुसार साउन र भदौ १० गतेसम्ममा जाँच गराउन आउनेमध्ये ४१ जनामा डेंगु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । “यीमध्ये डेंगुका १० र स्कपटाइफसका पाँच जना बिरामीलाई भर्ना नै गरेर उपचार गराएका छौँ”, उनले भने ।

    जिल्लाको फाकफोकथुम गाउँपालिकाबाट उपचारका लागि आएकी माया थेबेले शय्या नपाउँदा उपचारमा असहज भएको बताइन् । उनले भनिन्, “ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भुईँको चिसोले ज्यानै लैजाला जस्तो छ ।”

    जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट