आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय


  • चौतारीपाटी
  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित १0 महिना अघि
  • ८६ पाठक संख्या
  • चितवन । खोला र वनजंगलको भरमा जीविकोपार्जन गर्दै आएको बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेको छ । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेको बोटे समुदायका १०८ परिवार अहिले खोला र वनजंगलको विकल्पको खोजीमा जुटेको छ ।

    खोलानाला र वनजंगलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् । वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदाय होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेको छ ।

    उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउँछन् ।

    उनले भने, “अहिले पहिलाको जस्तो वनजंगल र खोलामा आश्रित हुनुपरेको छैन ।” कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताए । होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर ६०–७० हजार कमाइ हुँदै आएको उनले जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो । तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटेको भनाइ छ ।

    “पहिला हामी ६ महिना खेतीपाती गरेर खाए पनि ६ महिना जंगल र खोलानालामा गएर गुजरा चलाउनुपथ्र्यो । होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ,” उनको भनाइ छ । अहिले उनीहरुले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहका छन् ।

    बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ ।

    बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जंगल जानेलगायत काम कम हुँदै आएको बताउँछन् । उनका अनुसार अहिले बोटे समुदायले होमस्टे सञ्चालन, सामूहिक माछापालन, बाख्रापालन, खेती किसानीलगायत काममा लागेर खोला र वनजंगल छोडेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट