आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनसान कटारी बजार


  • चौतारीपाटी
  • २०८० भाद्र २५, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ९९ पाठक संख्या
  • ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै
    ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै
    पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार…

    तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो। यो गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार हो।

    विगतमा पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल  भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार।

    त्यतिबेला सडक थिएन। यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुँन्थे। पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे।

    ‘त्यतिबेलाको कटारी बजार त गुल्जार थियो’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्, ‘अहिले त चरोमुसो पसलमा आउँदैनन्।’

    साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरुसँग कटारी बजार आइपुगेका थिए। ‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला त्यतिबेला कटारी व्यापार गर्न आएका थिए’, साहले भने, ‘‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरु आउँथे।’

    कटारी बजार सगरमाथाको द्वारको रुपमा पनि परिचित बजार थियो। सगरमाथा चढ्नका लागि तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको भनाइ बुढापाकाको छ।

    विसं २०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो। विस्तारै सडक निर्माण सुरु भयो। मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो।

    नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री स्व.बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो।

    सडक निर्माणसँगै पहाडी जिल्लाहरुमा सामग्री ढुवानी सहज त भयो तर त्यसपछि यो सडकको स्तरोन्नती हुन सकेन। मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिसहरु हिंड्न नै डराउन थाले।

    ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्छन्, ‘‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिसहरु त्यतैबाट हिँड्न थाले।’

    सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो। गाईघाटबाट खोटाङ्ग पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत हुँदै गएको छ।

    तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने वाध्यता अहिले छैन। बाटो छोटो भएपनि स्तरोन्नती नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिसहरु सिन्धुलीबाट घुमेर जान थालेका छन्। कटारीका होटल व्यवसायी प्रताप राई भन्छन्, ‘‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो।’

    कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नहुँदा सुनसान बन्न थालेको उदयपुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अरुण साह बताउँछन्। ‘व्यापारीहरु अन्यत्र पलायन भइसके, बजारमा किनमेल छैन्। ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो,’ उनले भने।

    विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो। अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन्।

    बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट