आज: २०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस


  • चौतारीपाटी
  • २०८० भाद्र २८, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • १८९ पाठक संख्या
  • कास्की । पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र थिए । त्यो बेलाको मल्टिप्रपोज हाइस्कुल (अहिलेको राष्ट्रिय मावि) र सोल्जरबोर्ड हाइस्कुल (अहिलेको अमरसिंह मावि) बाट २०१७ सालमा म्याट्रिक पास गरेका विद्यार्थीहरूको पोखरामै क्याम्पस होओस् भन्ने चाहना थियो ।

    पास भएका विद्यार्थीहरू सबैको काठमाडौं वा बनारस गएर उच्च शिक्षा लिने क्षमता थिएन । सोही कारण पनि यहाँका शिक्षाप्रेमीहरूलाई पनि क्याम्पसको आवश्यकता महसुस भइसकेको थियो । त्यो समयमा पोखरा नगरका अध्यक्ष थिए, शिवबहादुर थापा । तत्कालीन समयमको पश्चिम तीन नम्बरको बडाहाकिम नारायणप्रसाद शर्मा थिए । बडाहाकिम शर्माको निवासमा शिक्षाप्रेमीहरूको बैठक बस्यो । त्यो बैठकले बडाहाकिम शर्माको अध्यक्षतामा कजेल सञ्चालक समिति गठन गर्यो । सोही समितिले कलेज बनाउने काम अघि बढायो ।

    उतिबेला कलेज स्थापना गर्न २५ हजार रुपैयाँ जोहो गरेर सरकारलाई बुझाउनुपथ्र्यो । पोखराका शिक्षाप्रेमीहरूले कलेज स्थापनापछि सो रकम सहयोग गर्ने सहमति भयो । त्यसपछि आवश्यक पर्यो, शिक्षक । यसमा नगर अध्यक्ष थापाका भाइ विमलबहादुर थापाले सघाए । आफूलाई काठमाडौंमा ट्युसन पढाउनुभएका भारत केरलाका जर्ज जोनलाई उनले पोखरामा खुल्ने कलेजको प्रिन्सिपल बनाउने प्रस्ताव गरे ।

    विमलले नै पोखरामा कजेल खुल्दै गरेको अनि आफूलाई प्रिन्सिपल बनिदिन आग्रह गरेको जार्ज जोनले बताए । त्यसअघि नै पोखरा घुम्न सहयोग गरेका कारण जर्जले विमलको कुरा हार्न सक्नुभएन । अनि पोखरा आउने सहमति जनाए ।

    सहमति भएको केही दिनपछि उनको हातमा पत्र पर्यो । पत्रमा लेखिएको थियो, “तपाईंलाई पृथ्वीनारायण इन्टर कलेज, पोखराको प्रिन्सिपल कम लेक्चर पदमा (६ महिनाको प्रशिक्षण कालमा) नियुक्त गरिएको छ । नियमानुसार कामकाज गर्नुहोला । हाललाई पोखरा आइपुग्नु हुुने निम्नाकिंत तलब भत्ता इत्यादि पाउनु हुनेछ ।” पत्रमा जोनलाई तीन सय ५० रुपैयाँको तलब तोकिएको थियो । जसमा मासिक तलब दुई सय ७५, मासिक भत्ता २५ र प्रिन्सिपल भत्ता पचास रुपैयाँ थियो ।

    सो पत्रसँगै आफूलाई ९० रुपैयाँ पेस्की पनि पठाएको जोनले सम्झाए । त्यो समय काठमाडौंबाट पोखरा आउन बस चल्दैनथ्यो । हवाइजहाजको सहारा लिनुपथ्र्यो । पोखरासम्म आएको ६४ रुपैयाँ भाडा लाग्थ्यो । पेस्की रकम बुझेर उनी २०१७ भदौ १६ गते जहाजबाट पोखरा ओर्लिए।

    जर्जजोनका लागि पालिखे चोकस्थित खेमनारायण श्रेष्ठको घरमा कोठाको समेत व्यवस्था भइसकेको थियो । पोखरा आएको भोलिपल्टैदेखि उनले नदीपुरस्थित तत्कालीन कन्या प्रावि अहिलेको कन्या क्याम्पसको एउटा कोठामा एसएलसी पास गरेका १३ जनालाई पढाउन सुरु गरे । त्यो दिन थियो, २०१७ साल भदौ १७ गते । यही दिनलाई पृथ्वीनारायण क्याम्पस (तत्कालीन पृथ्वीनारायण इन्टर कलेज) को स्थापना दिवसको रुपमा लिइन्छ ।

    अंग्रेजी विषयमा दख्खल राख्ने जर्जजोनको भागमा अंग्रेजीसँगै राजनीति शास्त्र र अर्थशास्त्र पढाउने जिम्मामा पर्यो । नेपाली पढाउनका लागि देवीरमश शास्त्री शिक्षकका रुपमा आए । सुरुमा दुई जना शिक्षकबाट पढाइ सुरु भयो ।

    त्यसबेलाको कन्या प्राविको एउटा कोठामा पढाइ राम्रै चल्दै थियो । कन्या प्राविको वार्षिकोत्सवको बेलामा बालिकाहरू पढ्ने स्कुलमा युवकहरू पढ्न केही असहज हुने भनाइ प्रहरीबाट आएपछि कहाँ जाने भन्ने समस्याले पिरोल्न थालेको जर्जजोन स्मरण गर्छन्। तर, त्यो वेला पोखरा अहिलेको जस्तो भरिभराउ बस्ती भने थिएन । त्यसैले पनि केही सहजता प्रदान ग-यो । अहिलेको फूलबारी ब्यारेक भएको ठाउँ र नारायणस्थान गरी दुई ठाँउमा जग्गा हेरियो । दुई स्थानमध्ये नारायणस्थान उपयुक्त ठानेर नारायणस्थानबाट पढाइ सुरु गरिएको उनले बताए।

    तत्कालीन नेपाली काँग्रेसबाट गृहमन्त्री बनेका सूर्यप्रसाद उपाध्यायबाट विसं २०१७ मंसिरमा औपचारिक रूपमा पृथ्वीनारायण क्याम्पसको नारायणस्थानमा नै  उद्घाटन गरिएको थियो । विसं २०१८ मा प्रवीणता प्रमाणपत्र तहको परीक्षा भएको जर्जजोन सम्झन्छन् । त्यसबेला दुई वर्षको परीक्षा एकैचोटि हुने चलन थियो । २०१८ सालमा विद्यार्थी बढेर १३ बाट १६ जना पुगेका थिए । १६ जनाले परीक्षा दिएकामा १३ जना पास भएको उनले सम्झिए ।

    नारायणथानमा खुल्ला चौरमा जाडोको समयमा पढाउन कठिन भइसकेको थियो । त्यसपछि फेरि नयाँ ठाँउको खोजी हुन थाल्यो । नयाँ ठाउँको खोजी गर्दै बडाहाकिम र जर्जजोनलगायतले भीमकालीन पाटन बगरमा जग्गा भेटे। त्यसपछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरी छाप्रो बनाइयो ।

    विसं २०१९ वैशाख १ गतेदेखि भीमकालीपाटनबाट पढाउन सुरु भयो । सुरुआतमा आर्टस् (मानविकी) मात्र पढाइ हुने क्याम्पसमा मानविकी हुँदै विज्ञान र कमर्स पनि जर्जजोनकै बलबुताले सुरु भएको थियो । नारायणस्थानबाट भीमकालीपाटन पुग्दा शिक्षक संख्या चार पुग्यो । त्यसक्रममा महेन्द्रसिंह थापा, शिवभुजन यादव, यज्ञप्रसाद शर्मा (देवीरमण शास्त्रीको स्थानमा) नयाँ शिक्षकका रुपमा थपिनुभएको थियो ।

    विसं २०२० मा राजा पोखरा घुम्न आएका समयमा पृथ्वीनारायण क्याम्पसको अवलोकनपछि भवन बनाउन एक लाख छुट्याएर अहिले आर्टस् भवन एकतले पक्की भवन बनाइएको थियो । त्यसपछि सरकारको आँखा पर्दै गएर ठूलाठूला भवन बनेको बताउँदै उनले “२०२४ सालमा दुई लाख सरकारले दिएपछि विज्ञान संकायको भवन पनि पक्की बनाएको हो,” उनले भने, “त्यसबीचमा अमेरिका पिसकोरका स्वयंसेवकमध्ये डोरथी मिरोको सहयोगमा सङ्ग्रहालय भवन बन्यो ।”

    त्यो बेला प्रत्येक विद्यार्थीले घर–घरबाट खर ल्याएर आफैंले छाप्रो बनाएर पढाइ सुरु गरेको उनले सुनाए । विसं २०५२ मा उनी पृथ्वीनारायण क्याम्पसबाट बिदा भए। तर, अहिले पनि उनलाई क्याम्पसको औधी माया लाग्छ ।

    जर्जजोनले २०३२ सालमा नेपाली नागरिकता लिनुभएर स–परिवार पोखरामा बस्न थाले । उहाँ अहिले ९२ वर्ष लागे । “अहिले पनि बेलाबेलामा क्याम्पस पुगेकै हुन्छु,” उनी भन्छन्, “भीमकाली पाटन (अहिलेको पृथ्वीनारायण क्याम्पस भएको ठाउँ)मा नयाँ भवन बने । तर त्यो चौरमा रहेका रुखहरू जुन विद्यार्थीहरूले एक–एक जनाले रोपेका हुन्, त्यो भने त्यस्तै छ ।” पृथ्वीनारायण इन्टर कलेज २०३० सालपछि पृथ्वीनारायण क्याम्पस बनेको थियो ।

    जर्जजोनको अध्यापन क्षमता र पोखराका शिक्षाप्रेमीको मायाले स्थापना भएको क्याम्पस पश्चिम नेपालकै नमुना बनेको कवि तीर्थ श्रेष्ठ बताउछन्। “पिएन क्याम्पस जनसहभागिता प्रशस्त जुटेको क्याम्पस हो,” उनले भने, “यो क्याम्पस बनेपछि अहिलेको गण्डकी प्रदेशसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुको केन्द्र बन्यो ।” यो सँगै यही क्याम्पस स्थापनापछि पश्चिम नेपालमा अरु क्याम्पस स्थापनाका लागि प्रेरणाको स्रोत बनेको उनले बताए । यसमा भारत केरलाबाट आउनुभएका शिक्षाप्रेमी जर्जजोनको ठूलो योगदान रहेका उनको भनाइ छ ।

    क्याम्पस स्थापनापछि यहाँ पढेका विद्यार्थीहरू देशको सामाजिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक, साहित्यिक, आर्थिकलगायत क्षेत्रमा अब्बल रहेको कवि श्रेष्ठले बताउछन् । उनले भने, “पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले राष्ट्रिय क्षेत्रमा योगदान दिनेहरुको लिस्त तयार गर्ने हो भने अन्य शैक्षिक संस्थाहरु भन्दा बढी योगदान यो क्याम्पसले दिएको मान्न सक्छौं ।”

    दुई जना शिक्षकले १३ जना विद्यार्थी लिएर सुर गरेको क्याम्पस अहिले ६४ औं वार्षिकोत्सव बनाएको छ । अहिले क्याम्पसमा ११ हजार छ सय ८४ विद्यार्थी अध्ययनरत रहेको क्याम्पसका सूचना अधिकारी मीनराज लम्सालले जानकारी दिनुभयो । सात सय १५ रोपनी १२ आना तीन पैसा एक दाम क्षेत्रफल जग्मामा ठूला भवन ४० वटा रहेको उनले बताए ।

    मानविकी संकायबाट पढाइ सुरु भएको क्याम्पसमा चार वटा संकाय, एउटा अध्ययन संस्थान, ३४ वटा विभाग र विभिन्न विशेष शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले जानकारी दिए । क्याम्पस विश्वविद्यालयको बाटोमा रहेको कोइरालाले सुनाए । “हामी विश्वविद्यालय बनाउन तयार छौँ । त्यो त सरकारले बनाइदिनुपर्ने कुरा भयो । हामीसँग पूर्वाधार तयारी अवस्थामा छ”, कोइरालाले भने ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट