आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड


  • चौतारीपाटी
  • २०८० भाद्र २८, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • २२५ पाठक संख्या
  • काठमाडौँ । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम) मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास छ ।

    यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीकोसमेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल –जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ ।

    सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि आज भाद्र कृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्ट जानकारी दिन्छन् ।

    गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिकरुपमा धेरै महत्व भए पनि गोकर्णेश्वरमा गर्न सकिने जति राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाइएकोे बताउँछन् । भक्तपुर चागुनारायणबाट आएकी दर्शनार्थी जया खत्री गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउँछिन् । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर मात्र थाहा पाएँ”–उनले भनिन् ।

    मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाइ बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि जयाको गुनासो छ । नेपाल ट्रष्टको मातहतमा रहेको वन क्षेत्रभित्रको सडक खोलिदिएको भए पनि यो समस्या हुने थिएन तर यसतर्फ स्थानीय र सङ्घीय दुवै सरकारले बेवास्ता गरेकामा उनी आपत्ति जनाउँछिन् ।

    मन्दिरको दक्षिणभागबाट बनेको सडक दक्षिणढोका निस्कने भए पनि त्यो पर्खालभित्र रहेको र नेपाली सेनाको सुरक्षा घेराभित्र यो क्षेत्र परेको छ । पर्खाल थोरै माथि सारेर सडक बाहिर पार्न गोकर्णेश्वर नगरपालिकाले आग्रह गर्दै आए पनि नेपाल ट्रष्टको कार्यालयले टेरेको छैन । शास्त्रीय रुपमा महत्व रहेको पवित्र तीर्थस्थलको व्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाइएको धेरै भक्तजन बताउँछन् ।

    यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लाग्ने गरेकोे छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी पनि यहाँ आएर श्राद्ध र पूजा आजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु काल्साङ लामाको भनाइ छ ।

    बौद्धमार्गीले आजका दिन गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पितृको स्वरुपको दर्शन गर्न पाइने विश्वाससमेत रहेको उनी जानकारी दिए । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ ।

    आजैका दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कार्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरुप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि मनाइँदैछ । गोकर्णेश्वर मन्दिर क्षेत्रमा आज बेलुकीसम्म नै पितृका नाममा श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्ने मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत उल्लेख गर्छन् ।

    मेलाका लागि बुधबारदेखि नै २०० स्वयंसेवक खटाइएको पनि उनी बताउँछन् । आज बेलुकीसम्म करिब पाँच लाख भक्तजनले मन्दिर क्षेत्रमा आएर पितृप्रति सम्मानभाव प्रकट गर्न सक्ने गरी व्यवस्थापन गराइएको पनि समितिले जनाएको छ । बिहान १० बजेसम्म करिब सवा दुई लाख भक्तजनले गोकर्णेश्वरबाट उत्तरगयासम्म बागमती किनारमा बसेर पितृप्रति सम्मानभाव प्रकट गरेको पनि अध्यक्ष महत उल्लेख गर्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट