आज: २०८१ श्रावण ७, सोमबार | Mon, 22, Jul, 2024

छोसेरमा ‘एक घर एक धारा’ सम्पन्न


  • चौतारीपाटी
  • २०८० भाद्र ३१, आईतबार मा प्रकाशित १0 महिना अघि
  • १०५ पाठक संख्या
  • म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी आयोजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो ।

    सात वर्षको प्रयासमा सम्पन्न भएको आयोजनाबाट करिब दुई सय घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब रु एक करोड ५० लाखको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न गरेको लोमान्थाङ–२ का वडाध्यक्ष कर्म नामगेल गुरुङले जानकारी दिए ।

    “एक सय ८६ घरधुरीमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ”, उनले भने, ‘‘बाह्र वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो । सात वर्ष लगाएर योजना सम्पन्न भएपछि घर–घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।”

    कोरलानाका नजिकै रहेको च्याउङछु भन्ने स्थानमा रहेको मूलबाट करिब १५ किलोमिटर लामो पाइप लाइनबाट छोसेरमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिङले बताए । तीस हजार लिटरको एक र २० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भएको छ ।

    समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रको मुहानबाट पानी ल्याइएको छ । एक सय ८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको अध्यक्ष छिरिङले बताए ।

    “सात वर्षअघि योजना सुरु भए पनि कोरोना महामारीका कारण दुई वर्ष बजेट नआएपछि काम हुन सकेन”, उनले भने, “आर्थिक वर्ष २०७९(८० मा पर्याप्त बजेट आएकाले योजनाले पूर्णता पाएपछि वर्षौँदेखिको सपना पूरा भएको छ । गत हप्तादेखि खानेपानी वितरण भएको छ ।” खानेपानीका लागि खर्च हुने समय र श्रमको बचत भएको छ । यसअघि सार्वजनिक धारामा पर्याप्त पानी नआउने समस्या थियो ।

    योजनालाई दिगोरूपमा सञ्चालन गर्न एक जना हेरालु राखिएको छ । सो योजनामा गत आर्थिक वर्षमा रु ७२ लाख २४ हजार बराबरको काम भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङका सबइन्जिनियर प्रताप सार्कीले बताए।

    उनका अनुसार चालु आवमा रु छ लाख १७ हजार बराबरको काम भएको छ । कोरोना महामारीका कारण दुई वर्ष काम नभएको र मुहान टाढा भएकाले योजना सम्पन्न गर्न समय लागेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट