आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु


  • चौतारीपाटी
  • २०८० आश्विन १४, आईतबार मा प्रकाशित ९ महिना अघि
  • १०१ पाठक संख्या
  • कास्की । पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ ।

    पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ ।

    अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइएको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताए । उनका अनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि रु पाँच करोडमा ठेक्का सम्झौता भएको छ ।

    सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एण्ड कुवेर निर्माण सेवाले पाएको छ । बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने बताइन्छ ।

    “अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ”, उनले भने । अस्फाल्ट गरिएको सडक पाँचदेखि सात वर्षसम्म टिकाउ हुने बताइन्छ ।

    सडक डिभिजन कार्यालयले पोखराको विरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट विरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन ।

    पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन् । पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ ।

    सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ । यससँगै पृथ्वीराजमार्ग, सिद्धार्थराजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट