आज: २०८१ अषाढ १०, आईतबार | Sun, 23, Jun, 2024

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’


  • चौतारीपाटी
  • २०८० आश्विन २५, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ९२ पाठक संख्या
  • जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो ।

    अध्ययनका क्रममा दुई वर्ष खाडीका छ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका आप्रवासी र नेपालमै रहेका नागरिकबीच तुलना गरिएकामा त्यस्तो देखिएको अनुसन्धानकर्ता टोलीमा सहभागी डा।निर्मल अर्यालले जानकारी दिए ।

    उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका सात सय १८ जना(सबै पुरुष) र नेपालमै रहेका सात सय २० जना (३७० पुरुष र ३४१ महिला) स्थानीयबीच तुलना गरिएको थियो । मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को क्षमता जाँच गरिएकामा आप्रवासीमा ५ दशमलव ८ प्रतिशत र गैरआप्रवासीमा ३ दशमलव ६ प्रतिशत कमी देखिएको डा।अर्यालले जानकारी दिए ।

    “गैरअप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ । त्यसैगरी रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आपवासीमा बढी देखिएको छ । उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निक्यौल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्य क्षमतामा कमी आएको मानिन्छ । यसले पनि आप्रवासीहरूमा बढ्दो मिर्गौला समस्याको सङ्केत गर्दछ”, डा।अर्यालले भने ।

    यस्तै मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीमा बढी देखिएको छ । खासगरी गैरआप्रवासी महिलामा यो समस्या बढी देखिएकाले यसको कारकतत्व खोज्न छुट्टै अध्ययन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

    त्यसैगरी अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीमा स्थानीय गैरअप्रवासीको तुलनामा उच्चरक्तचाप (आप्रवासी ३८ प्रतिशत, गैरआप्रवासी १९ दशमलव ४ प्रतिशत), मधुमेह (आप्रवासी ७४ प्रतिशत, गैरआप्रवासी ४ दशमलव ७ प्रतिशत) र बढीतौल वा मोटोपन (आप्रवासी ६७४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशत) को जोखिम निकै बढी रहेको देखिएको छ ।

    डा।अर्यालका अनुसार मिर्गौलाको रोगको जोखिम उच्च भएकामा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार, सुरक्षा गार्ड र सवारी चालक, प्रत्यक्ष घाममा, आउटडोर, धुलो–धुवाँमा काम गर्ने कामदारमा समेत यो समस्या धेरै पाइएको छ ।

    यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमूना लिइएको र त्यसपछि प्रश्नावली सोधिएको थियो । अनुसन्धान टोलीका अर्का सदस्य एवं मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका प्रमुख ड।श्रवणकुमार मिश्रका अनुसार अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए ।

    त्यसैगरी सहभागी आप्रवासीले औसतमा दैनिक १० दशमलव ७ घण्टा काम गर्ने गरेको र ३० दशमलव ९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि विदा नलिने गरेको बताएका थिए । यस्तै २४ दशमलव ८ प्रतिशतले शारीरिकरुपले भारी र लगभग आधा सहभागीले(४४ दशमलव ४ प्रतिशत) गर्मीमा काम गर्नुपरेको, करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको बताएको डा।मिश्रले जानकारी दिए ।

    “आप्रवासी मात्रै होइन उनीहरूको परिवारका सदस्य (विशेष गरी श्रीमती)मा पनि विभिन्न तनावका कारण धेरै समस्या हुनसक्ने देखिन्छ । यसर्थमा आप्रवासीमा उच्च रक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकाले ती देशमै यससम्बन्धी सचेतना जगाउन आवश्यक छ । त्यसका लागि नेपाली दूतावास र आप्रवासीको हकहितको लागि काम गर्ने सङ्घसंस्थाले पनि विशेष पहल गर्नुपर्छ”, डा।मिश्रको भनाइ छ ।

    बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपाल नामक गैरसरकारी संस्थाले बेलायतस्थित द कोल्ट फाउण्डेशनको आर्थिक सहयोगमा गरेको यस अध्ययनमा मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) र बेलायतकै युनिभर्सिटी कलेज लण्डन (युसिएल) ले सहयोग गरेको जनाइएको छ । यस प्रकारको अध्ययन समुदायस्तरमा आप्रवासी नेपाली कामदार र गैरअप्रवासीबीच पहिलोपटक भएको दावी गरिएको छ ।

    अनुसन्धानमा प्रमुख अनुसन्धानकर्ताको रुपमा डा प्रमोदराज रेग्मी (बर्नमथ विश्वविद्यालय, बेलायत) र उनको टिममा अनुसन्धानकर्ता डा।निर्मल अर्याल, प्राडा एडविन भान तेजलिन्जिन, प्रा डा।अरुण सेढाइ, डा।राधेश्यामकृष्ण केसी र डा।श्रवणकुमार मिश्र सहभागी भएको ग्रिन तारा नेपालले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट