आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रुकुमपूर्वमा खाद्य कम्पनीका चारवटा डिपो स्थापना हुँदै


  • चौतारीपाटी
  • २०८० आश्विन २५, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • ११७ पाठक संख्या
  • रुकुम । रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री केन्द्र तकसेराबाट चामल बिक्री हुँदै आएकामा यो वर्ष थप चार ठाउँमा खाद्यको डिपो स्थापना गरेर चामल बिक्री गरिने भएको हो ।

    “रुकुमपूर्व हिमाली जिल्ला भएका कारण धान कम उत्पादन हुन्छ । यहाँ चामलको माग निकै छ । गत वर्षमात्र पहिलो पटक जिल्लामा शाखा स्थापना भएकामा कार्यालयको मागेको कोटाभन्दा पनि बढी चामल उपभोक्तालाई बिक्री गरेका थियौँ”, रुकुमकोटस्थित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले भने ।

    पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोट, भुमे गाउँपालिका–२ खाबाङबगर, वडा नं– ९ चुनबाङ र सिस्ने गाउँपालिका–१ पाखागाउँमा स्थापना हुने नयाँ डिपोका लागि पनि चामलको कोटा निर्धारण गरिएको निमित्त कार्यालय प्रमुख खड्काले बताए । उनका अनुसार मैकोटमा स्थापना हुने डिपोमा एक हजार क्विन्टल, खाबाङबगर, चुनबाङ र सिस्नेको पाखागाउँमा स्थापना हुने डिपोमा पाँच÷पाँच सयका दरले कोटा निर्धारण गरिएको छ । नयाँ डिपोका लागि जिल्लामा ३० हजार क्विन्टल चामल आउने भएको छ ।

    त्यस्तै जिल्लामा शाखा स्थापना भएसँगै गत आर्थिक वर्षमा दुई हजार आठ सय क्विन्टल चामल बिक्री गरिएकोे थियो । तकसेरा बिक्री केन्द्र र शाखा कार्यालय रुकुमकोटबाट दुई हजार आठ सय क्विन्टल चामल बिक्री भएको हो । चालु आर्थिक वर्षमा पनि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउने पक्का भइसकेको छ । नयाँ थप हुने चार वटा डिपोबाहेक रुकुमकोट शाखा र तकसेरा बिक्री केन्द्रका लागि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउन लागेको हो ।

    तुलसीपुर र भैरहवाबाट रुकुमकोट शाखाका लागि सात सय ५० र भैरहवाबाट तकसेरा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल जिल्लामा आउने भएको छ । चामल ल्याउन तीन फरकफरक ठेकेदार कम्पनीले ठेक्का पाएको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए । अहिले पनि कार्यालयमा दुई सय ८० क्विन्टल चामल मौज्दात रहेको र दर्शै, तिहार र छठ पर्वका लागि स्थापना गरिएको सुपथ मूल्य पसलका लागि पनि पाँच सय क्विन्टल चामल रहेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट