आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी


  • चौतारीपाटी
  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ९३ पाठक संख्या
  • काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौंलाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका निम्ति अपिल जारी गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अरू ठाउँमा अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान अनुरोध गरिएको छ ।

    जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ/छैन यकिन गर्न र सकेसम्म साइरनजडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ ।

    यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्ड हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अंकको मात्र चेक जारी गर्न र सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।

    लंगुरबुर्जा, तास, जुवालगायत हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बन्न, मादकपदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

    प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट