आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा


  • चौतारीपाटी
  • २०८० कार्तिक १, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १३२ पाठक संख्या
  • बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।

    पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियो । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ ।

    झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।

    नाका पूर्णरूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ । बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।

    झोलुङ्गे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो । झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट