आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दैलेखमा धान उत्पादन घट्यो


  • चौतारीपाटी
  • २०८० मंसिर १०, आईतबार मा प्रकाशित ८ महिना अघि
  • २१२ पाठक संख्या
  • दैलेख   ।    दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेटिक टन मात्र धान उत्पादन भएको हो ।
    गत वर्ष सोही क्षेत्रफलमा धानखेती गर्दा २५ हजार एक सय २५ मेटिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ९७ मेटिक टन धान कम उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख हिक्मतराज गिरीले बताए ।
    पछिका दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा बढी धान उत्पादन भएको थियो । आव २०७८÷७९ मा आठ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा धानखेती लगाउँदा २६ हजार पाँच सय १० मेटिक टन धान उत्पादन भएको थियो ।
    यसै गरी यस वर्ष दैलेखमा सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालय दैलेखको विवरणअनुसार दैलेखमा छ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । उत्पादनको पूरा विवरण आइनसकेको भए पनि नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको निमित्त कार्यालय प्रमुख गिरीले बताए ।
    आव २०७९/८० मा छ सय १२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्दा पाँच हजार पाँच सय ७६ मेटिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७८/७९ मा छ सय ११ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा पाँच हजार नौ सय ८५ मेटिक टन सुन्तला उत्पादन भएको थियो ।
    निमित्त कार्यालय प्रमुख गिरीका अनुसार यस वर्ष दैलेखमा कागती खेतीसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष ७२ हेक्टर जमिनमा कागती खेती गर्दा पाँच सय ७८ मेटिक टन उत्पादन भएको थियो भने यस वर्ष ७३ हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको छ । आव २०७८÷०७९ मा ६९ हेक्टर क्षेत्रफलमा कागती खेती गर्दा पाँच सय ३१ मेटिक टन उत्पादन भएको थियो ।
    दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको देखिन्छ । पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ ।
    निमित्त कार्यालय प्रमुख गिरीले भन्नुभयो, “यस वर्ष दैलेखमा धान उत्पादनमा कमी आउनु मुख्य तीन वटा कारण देखिएको छ ।  ढिलो गरी पानी पर्नु, मलखादको कमी र प्राकृतिक प्रकोपले गर्दा उत्पादन घट्ने देखिएको छ ।” केन्द्रका अनुसार दैलेखमा अहिले १० देखि १५ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट