आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नौमती बाजा बजाउँदै महिला समूह


  • चौतारीपाटी
  • २०८० मंसिर ११, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ५८८ पाठक संख्या
  • रेसुङ्गा (गुल्मी) । गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उनले समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ ।

    महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताए । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उनले भने, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उनले आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थाल्नुभएको छ ।

    सोही ठाउँका वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा कम रहेकामा आफूहरूले बाजा बजाउन सिकेको बताए । “गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उनीहरूले बाजा बजाउन सक्नुहुँदैन”, उनले भने, “ पुरुष कम हुन थालेपछि हाम्रै समूह बनाएर बाजा बजाउन थालेका हौँ ।” गाउँमा बाजा बजाउने प्रचलन रहेकामा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उनले बताए ।

    उनीहरूमत्र होइन, नौमती बाजाको सबै समूह नै महिलाको छ । विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजामा समूहमा सबै महिला हुँदा यसलाई अचम्मको रूपमा हेरिएको छ । मदाने महिला नौमती बाजा समूह नामले परिचित यस समूहमा पुर्कोटदहका वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असिम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक गरी ११ जना रहनुभएको छ । अहिले यो समूहलाई जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन भ्याइनभ्याई छ ।

    विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा हो । पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर गुल्मीको मदाने गाउँपलिका–६ पुर्कोटदहका महिला यसको संरक्षणमा जुट्नुभएको छ ।

    बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर मदाने गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक बनाउनुभएको छ । यतिबेला मदाने गाउँपालिकाको यो समूह बाजा बजाउन गाउँपालिका, छिमेकी पालिका र जिल्ला सदरमुकाम तम्घाससम्म पुग्दै आएको छ । मदाने महिला नौमती बाजा समूहका अध्यक्ष जिसीले आफूहरूलाई एक दिन बाजा बजाएबापत रु २५ हजारदेखि ३५ हजारसम्म दिने गरेको बताए ।

    मदाने गाउँपालिकाले नौमती बाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको थियो । सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि नौमती बाजा वितरण पनि गरेको थियो ।

    मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बाजाको संरक्षण, महिलालाई सीप, बाजा बजाउने पेसालाई व्यावसायिक र गाउँपालिकाको पहिचानका लागि यो कदम अगाडि बढाएको बताए । “हामीले महिलालाई अगाडि बढाउन सीप सिकाएका हौँ”, उनले भने, “अहिले महिलाले बजाइरहेको बाजा व्यावसायिक र पहिचान बन्यो, खुसी लागेको छ ।” परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि नौमती बाजाको जगेर्ना गरेको उहाँको भनाइ छ । उहाँले यस आर्थिक वर्ष पनि गाउँपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताए ।

    महिलाले खुसीका साथ आफैँ लागेर बाजा बजाउने पेसालाई व्यावसायिक बनाएकामा संस्कृति संरक्षणमा टेवा पुगेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । “मदानेले महिलालाई नौमती बाजाको सीप सिकाएर पहिचान बनायो”, उनले भने, “अन्य पालिकाले पनि आफ्ना छुट्टै खाले पहिचान बनाउन आवश्यक छ ।” रुचिअनुसारका पेसामा अगाडि बढ्नु आफैँमा सकारात्मक भएको उनको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट