आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एक सय ५८ जनाले गरे मोतियाबिन्दुको नि : शुल्क शल्यक्रिया


  • चौतारीपाटी
  • २०८० मंसिर ११, सोमबार मा प्रकाशित ८ महिना अघि
  • १८७ पाठक संख्या
  • डुम्रे (तनहुँ)  ।   भानु नगरपालिकामा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासहितको तीनदिने आँखा परीक्षण शिविरमा एक हजार १९ लाभान्वित भएका छन् । अधिकांश मानिसमा मोतियाबिन्दुका बिरामी बढ्न थालेपछि गाउँमा नै सहजरुपमा शल्यक्रियासहितको सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको हो ।
    आँखा परीक्षण गराएका एक हजार १९ मध्ये एक सय ५८ जनामा मोतियाबिन्दु निदान भएको नारायणगढ लायन्स क्लबका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा परीक्षणका क्रममा मोतियाबिन्दु निदान भएका बिरामीको भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक भवनमा शिविरमै निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।
    उनले भने, “यहाँ मोतियाबिन्दुका बिरामी बढी भएकाले सहजरुपमा गाउँघरमै सेवा प्रवाह गरिएको हो । बाइसजाँगर, चन्द्रावती, नारेश्वरटारलगायतका भानु नगरपालिकाभित्रका विभिन्न स्थानमा गरिएको मोतियाबिन्दु निदान भएका बिरामीको नारेश्वरटारमा शल्यक्रिया गरिएको छ ।”
    भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस्ता शिविर समय समयमा गरी आँखा नदेखिने समस्या समाधान गर्ने प्रयासमा रहेको बताए । अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको पाइएकाले शिविरले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । उनले भने, “आँखाको समस्या समाधानका लागि उपचारमा सहज बनाउने लक्ष्य लिएका छौँ । योजना तयार गरी यसको अगाडिको प्रक्रिया थाल्नेछौँ ।”
    यस क्षेत्रमा आँखाका बिरामीको उपचारका लागि समस्या रहेकाले आँखा उपचार केन्द्र स्थापना गर्ने योजनाका लागि कार्यपालिका बैठकमा छलफल गर्ने उनले बताए । उनले भने, “स्थानीयको स्वास्थ्य प्रमुख हो । सोहीअनुरुप काम गर्ने योजनासहित यसको विषयमा छलफल गर्न लागिएको हो ।”
    शिविरमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनका डा रञ्जितकुमार शाहको प्रमुख नेतत्वमा डा मनिषा थापा, डा सृष्टि पौडेल, डा रमेश घिमिरे, डा वीरमाया तामाङलगायतका चिकित्सकले मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको थियो । डिएके फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवन, भानु नगरपालिकाको कार्यालय तनहुँ, नारायणगढ लायन्स क्लब चितवन, लायन्स क्लब अफ नारायणगढ नारायणी र  भानु नगरपालिका–२ को कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा शिविर गरिएको हो ।
    भानु नगरपालिकामा आँखा परीक्षण केन्द्र स्थापना गर्ने योजना रहेको नारायणगढ लायन्स क्लब चितवनका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए। उनले भने, “नारेश्वरटार आधारभूत स्वास्थ्य केन्द्रमा नै आँखा उपचार केन्द्र स्थापना गर्ने योजना छ । नगरपालिकासँग समन्वय भइरहेको छ । यहाँबाट अनुरोधपत्र पेस भएमा हामीले अरु प्रक्रिया अगाडि बढाउनेछौँ ।” भानु नगरपालिका मात्रै नभई अन्य क्षेत्रका आँखाका बिरामीलाई सहज हुने उनले बताए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट