आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु


  • चौतारीपाटी
  • २०८० मंसिर १५, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ११४ पाठक संख्या
  • गोदावरी । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उनले बताए ।

    द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो ।

    कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा कालोपत्रको काम हुने रावलले जानकारी दिए । उनका अनुसार डोटीतर्फ छ किमी कालोपत्र गरिएको छ ।

    डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको रावलको भनाइ थियो । उनका अनुसार द्रुतमार्गको ४३ दशमलव आठ किमी सडक कालोपत्रका लागि सम्झौता भएकामा झण्डै ७० प्रतिशतमात्र काम पूरा भएको छ ।

    धनगढी खण्डअन्तर्गत पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलमव चार किमी कालोपत्र गर्नका लागि भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा निर्माण कम्पनी काम गरिरहेको छ ।

    दुई वर्षअघि ठेक्का सम्झौता गरिए पनि बजेट अभावले सडक निर्माण अलपत्र परेकामा चालु आवमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कामले निरन्तरता पाएको आयोजना कार्यालयले  जनाएको छ ।

    विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किमी सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गबाट धनगढीसम्मको १० किमी पनि थपेर ९२ किमी काम भइरहेको जनाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट