आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो


  • चौतारीपाटी
  • २०८० पौष ९, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १६९ पाठक संख्या
  • फुङ्लिङ । ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।

    दस वर्षअघि फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपकी किसान मनमाया लिम्बूले एकै मौसम ९सिजन० मा १० देखि १५ मुरीसम्म फापर उत्पादन गर्ने गरेको सुनाइन् ।

    उनले भनिन्, ‘पछिल्लो समय खेती गर्ने जनशक्ति (मान्छे) पाईँदैन । अलैँची, चिराइतोजस्ता नगदेबाली लगाउने प्रचलन बढ्यो । यसैले फापर खेती गर्न छाडियो ।’

    यस्तै फुङ्लिङ नगरपालिका–२ बोझेकी किसान धनकुमारी मादेन लिम्बूले फापर खेती लगाउन छोडेको सुनाइन् । ‘पहिले–पहिले गाउँका सबै किसानले फापर खेती लगाउँथे, विस्तारै सबैले खेती गर्न छोड्दै गए, आफूले पनि फापर खेती लगाउन छोडियो’, उनले भनिन् । उनले परम्परागत रैथाने बाली भएकाले बीउ जोगाउनका लागि थेरै मात्र फापर खेती लगाउँदै आएको बताइन् ।

    उनीहरुजस्तै खेतीमा संलग्न जिल्लाका किसानले फापर खेती लगाउन छोडेका छन् । किसानले खेती गर्न छोडेपछि जिल्लामा फापर देख्नै पाउन छाडिएको फुङ्लिङ नगरपालिका–५ बुद्धचोकका विक्रम लिम्बूले जानकारी दिए । विगतमा गाउँका किसानसँग सम्पर्क गर्दा चाहे जति पाइनेअर्थात् उपलब्ध हुने फापर अहिले खोजी गर्दा पनि पाउनलाई मुस्किल पर्ने गरेको उनले बताए ।

    विगतमा फापर खेतीमा संलग्न रहँदै आएका किसान कम उत्पादन हुने र सोचेजस्तो फाइदा पनि नहुने भएकाले फापर खेती छोडेको बताउँछन् । कुन खेती र पेसा गर्दा बढी फाइदा हुन्छ, त्यतातिर किसान अग्रसर र आकर्षित हुँदै आएको उनीहरुको भनाइ छ ।

    थोरै परिश्रम वा लगानीबाटै राम्रो आम्दानी हुने गरेको अलैँची खेतीतर्फ नै ग्रामीण भेगका किसान आकर्षित हुँदै आएका छन् । स्थानीय भाषामा तीते र मिठे गरी दुई प्रथातिको फापर खेती गर्ने गरिन्छ ।

    खेती गर्न र उत्पादन हुन छोडेको फापर, कोदोलगायतका रैथाने खाद्यान्न बालीको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने हाल आवाज पनि उठ्न थालेको छ ।

    मेला, महोत्सव तथा खाद्य परिकार प्रदर्शनीमा रैथाने बालीका परिकार चखाउने र उपभोगका लागि प्रयोगमा ल्याउने गरिएकाले यस्ता बालीहरुको खेतीलाई निरन्तरता दिनुपर्ने माग समेत उठ्न थालेको छ ।

    स्थानीय तहले नै रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम बनाई कार्यान्वयनमा ल्याउनुपर्ने समाजका अगुवाले बताउने गरेका छन् ।

    किसानलाई आत्मनिर्भर बनाउने योजना बनाउँदै आएका स्थानीय तहले अनुदान सहयोग गरेरै भए पनि रैथाने बाली संरक्षण तथा खेती गर्नतर्फ प्रेरित गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने आवश्यक भएको समाजका अगुवा बताउँछन् । रैथाने बाली फापरको परिकार उपभोग गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

    उच्च रक्तचाप तथा मधुमेह (सुगर) का बिरामीले फापरको परिकार उपभोग गर्न लाभदायक हुने बताइन्छ । त्यस्तै कब्जियत नियन्त्रण गर्न, मोटोपन घटाउनमा सहयोगी हुने जनाउँदै फापरको रोटीलगायतका परिकार उपभोग गर्नमा उपभोक्ताको रुची बढ्दै गएको पाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट