आज: २०८१ मंसिर २५, मंगलबार | Tue, 10, Dec, 2024

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो


  • चौतारीपाटी
  • २०८० माघ १, सोमबार मा प्रकाशित ११ महिना अघि
  • १२८ पाठक संख्या
  • चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । अहिले पनि भक्तजन आउने क्रम जारी छ । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

    देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

    ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

    माघे सङ्क्रान्ति मेलाको अवसरमा आइतबार र आज नारायणगढ मुग्लिन सडकखण्डसमेत निर्वाधरुपमा सञ्चालनमा ल्याइएको छ । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारीसाधन रोकी काम गरिँदै आएको थियो । देवघाटमा भारतलगायत तेस्रो मुलुकबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन् ।

    विगत वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ । समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने जनाएको छ । अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट