आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट


  • चौतारीपाटी
  • २०८० माघ ११, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १४६ पाठक संख्या
  • काठमाडौँ । सभामुख देवराज घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिला सम्बन्धि राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियारसम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धी अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

    सभामुख घिमिरेले संयुक्त राष्ट्रसंघ, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निःशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्रसंघ कार्यालयले गरेका विश्वव्यापी निःशस्त्रीकरण प्रयासहरूको सराहना गरेका छन् । सो अवसरमा सभामुख घिमिरेले भने– ‘मलाई विश्वास छ कि एशिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजनासम्बन्धि चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ,’ सभामुखले भने– ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’

    सभामुखले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको पुष्टि भएको सभामुखको भनाइ छ ।

    सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताए । भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले नेपालको संसदले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसदले गृहकार्य गर्ने बताएका छन् ।

    उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरेकी छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट