आज: २०८० फागुन १५, मंगलबार | Tue, 27, Feb, 2024

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण


  • चौतारीपाटी
  • २०८० माघ २३, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४७ पाठक संख्या
  • दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो ।

    विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर ९पञ्चदेवल०को उत्खनन गरेको थियो । पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेको बताइएको छ । विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ ।

    मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै रु ८० लाखको लागतमा पुनःनिर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरको उत्खनन गरी हालै पुनःनिर्माण सम्पन्न भइसकेको छ । उत्खननका क्रममा शताब्दिऔँ अघिको शिलालेख र करुवामा पैसाको सिक्का भेटिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

    उत्खनन तथा पुनःनिर्माणमा विभागका प्राविधिकसहित पाँच र गैरप्राविधिक मजदुरसहित २५ खटिएका थिए । उत्खननका क्रममा मुख्य मन्दिरको गर्भ भागमा शिवलिङ्ग भेटिएको उनले बताए। उनका अनुसार उक्त शिवलिङ्ग भेटिएपछि उक्त मन्दिर महादेवको मन्दिर रहेको पुष्टि भएको थियो ।

    उक्त मन्दिर मुकुन्देश्वर महादेवको नामले चिनिन्छ । पाल्पाका तत्कालीन राजा मुकन्द सेनले स्थापना गरी पूजाआजा गरी मानी आएकाले यसको नाम मुकुन्द ईश्वर हुँदै मुकुन्देश्वेर महादेव भयो भन्ने भनाइ रहेको बताइन्छ । जुन–जुन स्थानमा उत्खनन गर्दा जे प्रमाण भेटिन्छ सोहीअनुसारको मन्दिरको पुनःनिर्माण गरिएको थियो । उत्खनन कार्यपश्चात त्यसको प्रतिवेदनका आधारमा मन्दिर पुनःनिर्माणको ढाँचा र शैली तयार भएको थियो । पूर्व अध्यक्ष पौडेलका अनुसार पुरातत्व विभागबाट शिला कुँदेर मन्दिर पुनःनिर्माण गर्दा सिमेन्ट र छडको प्रयोग गरिएको छैन । ऐतिहासिक, पौराणिक एवं पुरातात्विक महत्वको पावन तीर्थस्थल देवघाटधाममा रहेका यस्ता सम्पदाको संरक्षण गर्नसके धार्मिक पर्यटनको विकास गर्न सकिने उनको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु