आज: २०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : त्रिवि नवनियुक्त उपकुलपति बराल


  • चौतारीपाटी
  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ११२ पाठक संख्या
  • र्कीतिपुर (काठमाडौँ)  ।    त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।
    विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि बिहीबार साँझ रासससँग कुरा गर्दै उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।”
    उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उहाँले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे ।
    “विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ”, उनले भने, “यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।”
    विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसक्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै  कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ ।
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।
    उनीलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए ।
    उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट