आज: २०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

‘मेला महोत्सव कमाउने थलो बनेको छ’


  • चौतारीपाटी
  • २०८० फागुन २८, सोमबार मा प्रकाशित २ महिना अघि
  • ६० पाठक संख्या
  • कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् ।

    गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरूलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको मेलामा उनीहरूको दैनिकी व्यस्त बनाएको छ । “मेला प्रदर्शनी कक्ष थापेका छौँ । गाउँमै उत्पादित दुनाटपरी बेच्छौँ”, उनले भनिन्, “दुनाटपरी निकै रुचाइएको छ । यसले बजारीकरणमा टेवा पुर्‍याएको छ ।” विभिन्न आकारको दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको छ । गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात सङ्कलन गरेर दुनाटपरी तयार गर्ने गरिन्छ ।

    “दुनाटपरी बनाउनेमा कार्यमा दश महिला संलग्न छन् । बिहानै जङ्गल गएर सालको पात टिपिन्छ”, उनले भनिन्, “पात सुकाएर पछि सिन्काले जोडिन्छ । त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिइन्छ ।” बैतडीको दोगडाकेदार गाउँपालिका–७ का टेकबहादुर कार्कीले पनि महेन्द्रनगरको महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, महलगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन् ।

    उनले बैतडीमा निगालोबाट तयार पारिका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्याएका हुन् । “कैलाली कञ्चनपुरका मेला महोत्सवमा बिक्री गरिन्छ । बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गरिन्छ”, उनले भने, “कतिपय वस्तु स्थानीयबाट सङ्कलन गरेर ल्याउँछौँ । प्रचारप्रसार राम्रो भएको छ । बिक्री पनि राम्रै छ ।”

    सङ्घको आयोजनामा यही फागुन २१ गतेदेखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ जारी छ । मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याएको सङ्घका अध्यक्ष पिताम्बर जोशीले विश्वास व्यक्त गरे ।

    “स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएकोे छ”, उनले भने, “दिनहुँ सयौँले अवलोकन गरिरहनुभएको छ । यसले यहाँ उत्पादनको प्रचारप्रसार भइरहेको छ ।” पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकारसहितको थारु गाउँ पनि राखिएको छ । त्यहाँ थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासुलगायत छन् ।

    “मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भयो । एक याममा तीन÷चार लाख आम्दानी हुन्छ”, कैलालीको जोशीपुर गाउँपालिका–६ सिमरीका अञ्जुराज डगौँरा भन्नुहुन्छ, “ मेला महोत्सव हाम्रो लागि कमाउने थलोजस्तै बनेको छ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट