आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु


  • चौतारीपाटी
  • २०८० फागुन २८, सोमबार मा प्रकाशित ४ महिना अघि
  • ९० पाठक संख्या
  • खलङ्गा(दार्चुला)   ।    भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए ।
    जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
    प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय कुँवर अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला हतकडीसहित भागेका थिए । कुँवरलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । प्रहरी हिरासतबाट भागेका कुँवर हतकडीसहित महाकाली नदी पार गरी भारत पुगेका थिए । कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको जनाइएको छ ।
    गत माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।
    कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गर्न सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नालाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट