आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु


  • चौतारीपाटी
  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • ६९ पाठक संख्या
  • चितवन   ।   चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो ।
    निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो ।
    उक्त गैँडा मानव बस्तीमा समेत पस्ने गरेको उनले बताए । उमेर बढी भएकाले यो गैँडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिए । उनका अनुसार निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् ।
    निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।
    गैँडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताए । गैँडा स्थानान्तरणपश्चात् पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ ।
    पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् ।
    एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण थालिएको हो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट