आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग


  • चौतारीपाटी
  • २०८० चैत्र ६, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ६७ पाठक संख्या
  • काठमाडौँ  ।    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको र यसको निष्पक्ष छानबिन गरिनुपर्ने माग कांग्रेस नेता दीपक गिरीले संसदमा राख्नुभयो ।
    यस मुद्दामा निष्पक्ष छानबिनमा बाधा पुग्ने देखिएकाले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको गिरीले उल्लेख गरे । विद्यमान सहकारी ऐनले सहकारी संस्थाका सदस्यलाई मात्र कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेपनि गैरसदस्यलाई समेत ऋण दिइएको विषय गैरकानूनी रहेको उनले दाबी गरे।
         प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसद गिरीले मिटरब्याजपीडित, सहकारीपीडितलगायतले न्याय पाउनुपर्छ भनेर सदनभित्र र बाहिरसमेत कुरा उठाइरहेको भएपनि त्यसको अझै सुनुवाइ हुन नसकेको बताए । विभिन्न सहकारी संस्थामा भएको ठगीको विषयलाई गम्भीरताका छानबिन गर्न कांग्रेसले माग गरेको छ । स्वार्थको द्वन्द्व हुनेगरी सरकारले मन्त्री नियुक्त गरेको आरोप पनि उनले लगाए ।
         प्रतिनिधिसभाको आजको बैठकमा सांसद सरस्वती बजिमयले देशैभर प्राकृतिक र मानवजन्य प्रकोपले आम सर्वसाधारण पीडित भइरहेकोबारे संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ मा भएको आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति दिइनुपर्ने बताए ।
    त्यसैगरी, सोहि नगरपालिकाको वडा नम्बर १ र २ मा पनि अहिले आगलागी भइरहेकाले त्यसको नियन्त्रणका लागि पहल गर्न माग गरे। जिल्लाका अरु स्थानमा पनि आगलागी भइरहेको उनको भनाइ छ । अहिलेसम्म खोटाङमा विभिन्न ३० स्थानमा आगलागी भइरहेको र ११ घर पूर्णरुपमा नष्ट भएको, ६७ वटा पशु चौपाया र १५ वटा कुखुरा मरेको उनले संसदमा बताए। आगलागीबाट हालसम्म जिल्लामा करिब रु एक करोड २० लाख ९० हजार बराबरको क्षति अनुमान गरिएको उनले बताए ।
         सांसद देवेन्द्र पौडेलले पछिल्लो समय सवारी दुर्घटना बढिरहेको र यसबाट वर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए । पछिल्लो पाँच वर्षमा मात्र १४ हजारभन्दा बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाएको बताए ।
    सोमबार बागलुङको निसीखोलमा भएको बस दुर्घटनामा नौ जनाको मृत्यु र २५ जनाभन्दा बढी घाइते भएको र घाइतेको उद्दार तथा तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे । दुर्घटना न्यूनीकरणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
         सांसद जनार्दन शर्माले पनि सोमबार बागलुङमा भएको बस दुर्घटनाका घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न र मृतकलाई हालसम्म परिवारको जिम्मा लगाउन नसकिएकोमा त्यसको व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गरे ।
    सवारी दुर्घटनाका कारण ज्यान गुमाउने र अङ्गभङ्ग हुनेको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेकोबारे सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसद चन्द्रबहादुर विश्वकर्माले दुर्घटना न्यूनीकरणका लागि पहल थाल्न आग्रह गर्नुभयो । सोमबार भएको बस दुर्घटनाका घाइतेलाई निःशूल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग पनि उनले गरे ।
    सांसद रघुजी पन्तले नेपाली साहित्यलाई आधुनिक स्वरुप दिने प्रख्यात कथाकार परशु प्रधानको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरे। मुलुकलाई चिनाउन लेखक, कलाकार, संगीतकर्मीको भूमिका रहने भएकाले राज्यले उनीहरुलाई प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा पनि उनले जोड दिए । अहिले साझा प्रकाशन रुग्ण अवस्थामा पुगेको प्रति पनि उनले सरकारको ध्यानाकर्षण गरे ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट