आज: २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको सक्रियता र अनुगमन


  • चौतारीपाटी
  • २०७९ पौष ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • १६२ पाठक संख्या
  • उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार लाजिम्पाट, सोह्रखुट्टे, भैंसेपाटी, जावलाखेल क्षेत्रका सडकको अनुगमन गरेका छन्। उनले अनुगमनका क्रममा अन्तरसरकारी निकायबीच समन्वयको अभाव भएको अनुभूति गरे। एउटा सरकारी निकायले बनाउने, अर्काेले भत्काउने क्रम नरोकिएकोमा मन्त्री असन्तुष्ट देखिन्थे।
    ‘एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउने क्रम नरोकिँदा जनताले सास्ती पाउने क्रम रोकिएको छैन,’ उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार अनुगमनका क्रममा भने, ‘राज्यका निकायले जिम्मेवारीपूर्वक समन्वय गरेरै काम गर्नुपर्छ।’
    मन्त्री श्रेष्ठले राज्यका निकायले जिम्मेवारीबोध र तदारुकताका साथ काम सम्पन्न नगरेको कारणले पनि यो स्थिति आएको हो भन्ने आफूलाई बोध भएको बताएका छन्। ‘सबै निकायको समन्वय गरेर काम गर्न केही समय लाग्ला। तर, त्यसो भन्दैमा म चुप लागेर बस्दिनँ,’ उनले भने, ‘तमासा हेरेर बस्ने स्थिति छैन। अप्ठ्यारो छ, जनताले दुःख पाएका छन्,  विकास निर्माणको अनुभूति गर्न पाएका छैनन्।’
     मन्त्री श्रेष्ठले यस्तै अवस्थामा आफू चुप लागेर नबस्ने स्पष्ट पारे। ‘यस्तै हो भनेर बस्न सकिन्न। सकारात्मक गुणात्मक हस्तक्षेप गरिन्छ। सबैलाई जिम्मेवारीबोध गराएर समन्वयात्मक ढंगले काम गराइन्छ। जसले कमजोरी गर्छ वा गैरजिम्मेवार काम गर्छ हामी कारबाहीको प्रक्रियामा जान्छौं,’ मन्त्री श्रेष्ठले भने।
    मन्त्रीसँगको छलफलपछि महांकाल–भृकुटीचोक–तेन्जिङचोक–फैका–आनीगुम्बा–चपली बुढानीलकण्ठ सडकखण्डको निर्माण व्यवसायी तुदि/प्रेरा जेभीले माघ मसान्तभित्र काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा–बालुवाखानी सडकखण्डको निर्माण व्यवसायी दिवा/शैलुङ जेभीले पनि फागुन १५ गतेभित्र काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। त्यति मात्रै होइन, आकाशेधारा–राममन्दिर–कृष्णमन्दिर सडकखण्डको निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनले पनि फागुन १५ भित्रै काम सक्ने वाचा गरेको छ। सीतापाइला–रामकोट–भीमढुंगा सडकखण्डको निर्माण व्यवसायी आशिष सिएम जयवावा जेभीले पनि माघ मसान्तभित्रै काम सम्पन्न गर्ने वाचा गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट