आज: २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

सिटीमाथि ८ अंकको अग्रतासँगै गनर्स उपाधितर्फ


  • चौतारीपाटी
  • २०७९ माघ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • २४५ पाठक संख्या
  • लन्डन

    इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको ठोस अग्रता । त्यसमाथि सललल बग्ने मीठो खेल । अझ त्यसमाथि आफ्नो सबैभन्दा ठूलो शत्रु क्लबको घरमै प्राप्त प्रभावशाली जित । आर्सनललाई यस सिजनमा यो भन्दा बढी के नै चाहियो र ? आर्सनलले आइतबार टोटेनहमलाई उसकै घरमा २–० ले पराजित गर्‍यो

    यसले प्रस्ट पारेको छ, अहिले उत्तरी लन्डनमा वर्चस्व कसको छ भनेर । अनि यसले के पनि प्रस्ट पारेको छ भने अब सायद आर्सनललाई लिग उपाधि जित्नबाट रोक्न गाह्रो हुनेछ । इंग्लिस फुटबलमा अहिले सबैभन्दा राम्रो टिम भनेकै आर्सनल हो । यसमा अब फरक मत राख्नु झन् गाह्रो हुन थालेको छ । आर्सनलले लिगमा अहिलेसम्म उपलब्ध ५४ अंकमध्ये ४७ कमाएको छ ।

    यस्तोमा आर्सनल सन् २००३–२००४ यता पहिलोपल्ट लिग जित्ने संघारमा पुगेको छ । त्यो सिजन आर्सनलले गज्जब खेलेको थियो, त्यसैले अपराजित रह्यो । त्यसैले यो टिमलाई अझैसम्म पनि ‘इनभिजिबल’ नामले गर्वले सम्झिने गरिन्छ । त्यसको केही छनक अहिले देख्न पाइन्छ, मिकेल आर्टेटाको टिममा । केही दिन भयो, आर्सनलले लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता खोलेको । तर त्यति बेला दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनलको तुलनामा एक खेल कम खेलेको थियो । त्यसैले एक प्रकारको मनोवैज्ञानिक दबाब थियो । तर अब त के स्थिति आएको छ भने आर्सनल र सिटी दुवैले समान १८ खेल खेलेका छन्, कुल ३८ खेलमध्ये । अहिलेको स्थितिमा सिटी आफैं पनि उपाधिका होडमा सामेल हुन संघर्षरत देखिएको छ ।

    टोटेनहमविरुद्ध पहिलो हाफमा आर्सनलको प्रदर्शन वास्तवमै प्रशंसायोग्य रह्यो । आर्टेटाका लागि विशेषतः बुकायो साकाले चारैतर्फ दौडिएर मज्जाले खेले । यिनै इंग्लिस विङगरबाट डिफ्लेक्ट भएको बललाई टोटेनहम गोलरक्षक ह्युगो लोरिसले आफ्नै पोस्टको दिशा दिए । त्यसपछि मार्टिन ओडेगार्डले दोस्रो गोल थपे र खेलको कथा लगभग त्यहीं सकियो । अब त चतुर बेलायती सट्टेबाजहरूले पनि खुलेरै आर्सनलका पक्षमा बाजी थाप्न थालेका छन् ।

    अब लिग आफ्नो दोस्रो हाफमा अग्रसर भएको बेला कम्तीमा आर्सनल आफैंले पनि केही न केही दबाब महसुस गर्न सक्छ । यो अर्को फरक खालको मनोवैज्ञानिक दबाब हुनेछ । विश्वास गर्न सकिन्छ, सिटीले अब आफ्नो स्थितिलाई अझ राम्रो बनाउन कोसिस गर्नेछ, किनभने प्रशिक्षक पेप ग्वार्डिओला यस्तै कामका लागि माहिर छन् । न्युकासल पनि उत्तिकै उत्साहित छ, के के न ठूलै गर्ने सोच छ । अनि म्यानचेस्टर युनाइटेड पनि आफ्नो लयबाट आफैं मख्ख परेको स्थिति छ ।

    आर्सनलले यसै सप्तान्तको खेलमा फुलहमलाई १–० ले हराएको छ भने युनाइटेड म्यानचेस्टर डर्बीमा विजयी रहेको त अब जगजाहेर नै छ । त्यसैले अहिलेको स्थिति बनेको सिटी, न्युकासल र युनाइटेड त्यस्तो दाउमा खेल्नेछन्, जहाँ तिनीहरूको चाहना भनेको आर्सनलको खेल बिग्रियोस् भन्ने नै हो । तर तिनका दुःख के भने आर्सनलले खेल तलमाथि हुने कुनै संकेत देखाइरहेको छैन् । अझ उल्टै संयमित छ, त्यसैले ओडगार्ड भन्छन्, ‘हामी संयमित हुनुपर्छ, टिममा अझै सुधार चाहिन्छ ।

    यो भनेको अहिलेको आर्सनल जित्दै जाँदा आफैंमा घमण्डी छैन, बरु भलाद्मी छ । यी सबै परिस्थितिबीच आर्टेटा आफैं टोटेनहममाथि प्राप्त जितलाई लिएर के भन्छन् त ? उनी भन्छन्, ‘म त अहिले निकै भावनात्मक भएको छु । हाम्रा लागि टोटेनहमलाई उसकै घरमा हराउनु विशेष हुने गर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट