आज: २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छ : नेता पाण्डेय


  • चौतारीपाटी
  • २०८० फागुन २१, सोमबार मा प्रकाशित २ महिना अघि
  • ४० पाठक संख्या
  • काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताएका छन् । गुणस्तरीय नीति र कानुन नभएसम्म देश नबन्ने उल्लेख गर्दै उनले संसदीय काममा लागेका संसद्लाई सम्बन्धित पार्टी र नेतृत्वले पनि प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।

    रासससँग सोमबार कुरा गर्दै सांसद पाण्डेयले भने, “संसदीय काममा कति जिम्मेवार हुनुपर्छ र कति समय दिनुपर्छ भन्नेमा नै हाम्रो बुझाइ कम छ । हामीहरू संसदीय गतिविधिभन्दा अरू काममा बढी समय दिन्छौँ । कहिले संसद्को पूर्ण बैठकमा बहुमत पुग्दैन त कहिले संसदीय समितिमा पनि बहुमत पुग्दैन । यो हाम्रो कमजोरी हो ।”

    मतदातामा पनि सांसदहरूलाई सधैँ आफ्नो घरदैलोमा र आफ्नाबिचमा हेर्न चाहने कमजोरी रहेको उल्लेख गर्दै सांसद पाण्डेयले जब सांसद संसदीय काम छोडेर त्यतापट्टि बढी व्यस्त हुन्छन् तब न गुणस्तरीय कानुन बन्ने न गुणस्तरीय नीति बन्ने बताए ।

    “यो कुरा हामीले मतदाताका बिचमा पनि अवगत गराउनु आवश्यक छ । अर्को कुरा पार्टीको नेतृत्व र नेतालेसमेत कुन सांसद संसदीय काममा बढी व्यस्त छ र उसलाई पार्टीले गर्नुपर्ने प्रोत्साहनको पनि कमी देखिन्छ”, उनले भने । सांसदलाई संसदीय काममा बढी व्यस्त बनाउनुपर्ने उनको भनाइ थियो ।

    संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्यको अनुभवसमेत सम्हालीसकेका तथा हाल प्रतिनिधिसभा सदस्यमा बाजुराबाट निर्वाचित कांग्रेस सहमहामन्त्री पाण्डेयले संसदीय काममा संसद् बैठकभन्दा संसदीय समितिको सक्रियता बढेको बताए ।

    “यो महत्त्वपूर्ण पनि हो । बजारको भाषामा संसद् भनेको ‘सो रुम’ हो भने समिति कारखाना हुन् । कारखानामा उत्पादन भएपछि मात्र उत्पादन ‘सो रुम’मा देखाउन सकिन्छ । पछिल्लो संसद्मा हामी समितिमा सक्रिय छौँ । तर पनि समितिबाट एउटा पनि विधेयक निर्माण गरिसकेका छैनौँ”, सांसद पाण्डेयले भने । अहिले आफू रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार विधेयकलाई अन्तिम रूप दिने क्रममा रहेको उनले जानकारी गराए ।

    सांसदले विकास निर्माणमा पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने जिज्ञासामा उनले मतदाताको भावना र निर्वाचनका बेला गरिएका बाचा पूरा गर्न पनि सांसद हाम्रो जस्तो मुलुकको विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको धारणा व्यक्त गरे ।

    नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्रीसमेत रहेका नेता पाण्डेयले आफूले हाल जिल्लाको, संसदीय र पार्टीको काम गरी तीन कामको जिम्मेवारी रहेको उल्लेख गरे । सांसदले राम्रो विधेयक बनाउन अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यसका लागि आवश्यक आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन हुनुपर्ने उनले बताए ।

    विधेयक अगाडि बढाउने सम्बन्धमा एउटा सांसदले त्यसको पृष्ठभूमि, देश विदेशको अनुभव, समाजको अवस्था, समकालीन आवश्यकता, चुनौतीलगायत विषय अध्ययन अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

    कार्यान्वयनयोग्य कानुन बनाउन देखिएका चुनौतीका सम्बन्धमा उनले जनताका आवश्यकताभन्दा यथास्थितिमा बढी विश्वास भएर कर्मचारीतन्त्र हाबी हुने गरेको अनुभव सुनाए । उनले राजनीतिज्ञले नयाँपन दिन कानुनमा प्रतिविम्ब हुनेगरी काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

    संसदीय समितिका निर्देशन पालनामा देखिएको दोहोरोपनका सम्बन्धमा नेता पाण्डेयले समितिले आफ्नो सीमा र कर्तत्व नबुझ्दा त्यस्तो हुने गरेको बताए । त्यही कारणले नै कार्यपालिकाले पनि निर्देशनको अवज्ञा गर्ने गरेको उनको दाबी थियो ।

    फरक प्रसङ्गमा उनले हाल केही युवामा राजनीतिप्रति देखिएको वितृष्णलाई हटाउन राजनीतिज्ञले विश्वासको वातावरण बनाउने गरी आफ्नो व्यवहार प्रकट गर्नुपर्ने उल्लेख गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट