आज: २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

मोरक्को भूकम्प : दुई हजार ८०० जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो


  • चौतारीपाटी
  • २०८० भाद्र २६, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ७१ पाठक संख्या
  • मौले ब्राहिम, (मोरक्को) ।   मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ८०० पुगेको छ भने तीन हजार जना घाइते भएका छन् ।

    अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् ।

    भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौतिरिनुपरेको पीडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।

    भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एक पीडितका अनुसार करिब २०० जनाको बसोबास रहेको उनको गाउँका ९० जनाको शव फेला परेको छ भने अन्य हराइरहेका छन् ।

    “यो गाउँका मानिस या त अस्पतालमा छन् वा जीवित छैनन्,” बिलौना गर्दै हसन भन्छन् ।

    भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ । परम्परागत घरका इँटा र ढुंगा बाटामा असरल्ल छन् । हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन् तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन ।

    “हामी यहाँ राज्यले परित्याग गरेको महसुस गरिहेका छौँ, हामीलाई मद्दत गर्न कोही आएको छैन । हाम्रा घर भत्किएका छन्, अब हामी कहाँ बस्ने ?” एटलस पहाडको अग्लो क्षेत्रमा रहेका गाउँ मिसिरातका भग्नावशेषमाथि उभिएर रोष व्यक्त गर्दै ४३ वर्षीया खादिजा एट्लकिद प्रश्न गर्छिन् ।

    एक सयभन्दा कमको बसोबास रहेको उनको गाउँपालिकामा १६ जनाको शव फेला परेको भएपनि भग्नावशेषमा पुरिएका पशुचौपाया गन्हाएर स्थानीय वायु नै प्रदूषित भएको छ ।

    मोरक्कोको पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ । अल–हौज र ताराउदान्ट प्रान्तका अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफियामा भएको छ ।

    स्पेन, संयुक्त अधिराज्य र कतारले खोज तथा उद्धारमा सघाउन आ–आफ्नो टोली परिचालन गरका छन् । मोरक्कोका उद्धारकर्मीसँगको समन्वयमा उनीहरूले काम गरिरहेका गृह मन्त्रालयले जनाएको छ ।

    सावरी साधन पुग्न नसक्ने अनकन्टार पहाडी गाउँमा हेलिकप्टरबाट खाद्य सामग्री खसालिएको जनाउँदै गृह मन्त्रालयले यथाशक्य चाँडो सबै पीडितलाई राहत सामग्री उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    यसैबीच, युरोपेली संघले मानवीय सहायतास्वरुप एक लाख युरो तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

    यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर नगर तहसनहस भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट